Tuesday, 17 September 2013

विद्यार्थी जीवन

विद्यार्थी जीवन ः त्याग र तपस्याको जीवन

विद्यार्थी शब्द तत्सम शब्द हो । विद्या + आर्थी मिलेर यो शब्दको निर्माण भएको हो । विद्या भन्नाले शिक्षा र आर्थी भन्नाले ग्रहण गर्ने भन्ने बुझिन्छ । यसर्थ विद्यार्थी भन्नाले शिक्षा आर्जन गर्ने व्यक्ति भन्ने बुझ्नुपर्दछ । सिकाइ क्रियाकलापमा भाग लिने जति सबै विद्यार्थी हुन् । तर सिकाइ क्रियाकलापमै आफ्नो पूरै समय खर्चिएर प्रमुख पेसाका रूपमा अङ्गाल्ने अर्को विद्यार्थी पनि हुन्छ । यस्ता विद्यार्थीको जीवन अरूको भन्दा फरक हुन्छ । जुन जीवन त्याग र तपस्याले भरिएको हुन्छ । कुनै त्याग बिना त्यो विद्यार्थीको जीवन विद्यार्थी जीवन हुन सक्दैन । त्यसैले विद्यार्थी जीवनमा त्याग र तपस्याको खाँचो हुन्छ ।

सिकाइ जन्मदेखि मृत्युपर्यन्त चल्ने प्रक्रिया हो । बालक जन्मने बित्तिकै रुन र स्तनपान गर्न सिक्दछ । बिस्तारै बोल्न अनि भाषा बुझ्दै र सिक्दै जान्छ । तर विद्यार्थी जीवन त्यो भन्दा अलि फरक हुन्छ । औपचारिक रूपमा विभिन्न विद्यालय तथा महाविद्यालयमा गएर निश्चित पाठ्यपुस्तक वा पाठ्यक्रममा आधार भएर कला, सीप, विज्ञान, साहित्य आदि सिक्ने प्रक्रिया हुन्छ । उक्त प्रक्रियामा विद्यार्थीले आफ्नो सम्पूर्ण समय व्यतित गर्नुपर्छ । त्यो एउटा त्याग पनि हो । समय धेरै महङ्गो हुन्छ । तर विदार्थीले त्यो समयलाई ख्याल गरे पनि अन्य क्षेत्रमा समय नखर्ची सिकाइमै खर्च गर्नुपर्छ ।

नेपाल एउटा सानो मुलुक हो । यो विकासोन्मुख छ । यहाँको विकासको गति सुस्त छ । यसको केन्द्र काठमाडौँ । काठमाडौँ बाहिरी जिल्ला अनि गाउँगाउँका विद्यार्थी आउँछन् । घरपरिवार, छरछिमेकी, साथीभाइ अनि जन्म गाउँलाई छाडेर आफ्नो कर्म खोज्दै काठमाडौँ आउँछन् । त्यो उनीहरूको ठुलो त्याग हो । उनीहरूले आफ्नो जीवन प्रदान गर्ने आमाबावुलाई छाडेर एक्लो सहरमा जीवन बिताउन थाल्छन् । उनीहरू आत्मा निर्भर हुन सकेका हुदैँनन् । किनकी उनीहरूको मुख्य पेसा नै सिकाइ हो । त्यसैे विभिन्न समस्याहरू भोग्नुपर्छ । त्यो समस्या समयसँगै बिस्तारै घट्दै त जान्छन्, तर त्यसै भएको भने पक्कै होइन । विद्यार्थी जीवनको त्यो धैर्यता र तपस्याले सम्भव हुन गएको हो । यसैगरी विद्यार्थी जीवनमा कहिलेकाहीँ भोक तिर्खा पनि भुलेर किाइमा तल्लिन हुनुपर्छ । त्यो एउटा तपस्या हो । निद्रालाई कम गरेर, आफ्नो मनोरञ्जन गर्ने समयलाई कम गरेर, साथीभाइसँगको आत्मीयता तथा सामिप्यता हुन समय शिक्षामा लगानी गरेर आफ्नोे जीवनको तपस्या पूरा गर्नुपर्छ । त्यसैले विद्यार्थी जीवन साँच्चिकै एउटा ठुलो त्याग अनि तपस्या हो । 

‘जीवन सङ्घर्ष, सङ्घर्ष जीवन हो ।’ पूरै जीवनको एक हाँगो नै विद्यार्थी जीवन हो । विद्यार्थी जीवनमा अनेकौँ बाधा अड्चनहरू आउँछन् । कुनै समय परीक्षामा असफल पनि हुन सक्छ विद्यार्थी । तर उ कति पनि बिचल्लित नभइ आफ्नो कर्ममा लाग्नुपर्छ । यदि उसले आफ्नो कर्तव्य र अधिकार दुवैलाई बुझेर अघि बढ्छ भने साँच्चिकै आफ्नो लक्ष्यको विन्दुुमा पुग्न सक्छ । यदि उ असफल भयो भने उसको समय एउटै कुरामा दुई गुणा बन्न पुग्छ । तर उसले आफ्नो धैर्यताको सीमा गुमाउन हुदैँन । त्यो धैर्यताले उसको जीवन सुखमय हुन्छ । त्यसैले जति जीवनमा धैर्यता हुन्छ त्यति सफलताको शिखर चुम्न सकिन्छ । भन्छन् ‘धैर्यताको फल मिठो हुन्छ ।’ हो साँच्चै धैर्यता नै सफल जीवनको एउटा सूत्र हो ।

समय अत्यन्तै मूल्यवान् छ । व्यवसायी, पत्रकार, राजनीतिज्ञ तथा आम सर्वसाधारण लगायतका लागि समय महत्वपूर्ण छ । अझ विद्यार्थीका लागि महत्व बढी छ । विद्यार्थीले समयसँगै चल्नुपर्छ । सानो गल्तिले धेरै वर्षसम्म पछुताएर बस्ने अवस्था पनि नआउन सक्छ भन्न सकिन्न । त्यसैले विद्यार्थीका लागि समय पलपल महत्पूर्ण छ । यसको महत्वलाई आत्मसाथ गरेर जीवन चलाउन विद्यार्थीले सक्नुपर्छ । त्यो नै विद्यार्थीको सफलता हो त्यो सफलता विद्यार्थीको शिखर हो । शिखर चुम्न धेरै समय लाग्ने र गाह्रो हुन्छ । त्यसैले विद्यार्थी जीवनमा शिखर चुम्नलाई समयको पावन्दीलाई ख्याल गर्नुपर्छ ।

हरेक व्यक्तिले बिहान उठेदेखि ननिदाएसम्म कहीँ कतैबाट केही न केही सिकिरहेको हुन्छ । यति मात्र हैन उसले जानेका कुरा अरूलाई बाँड्दै पनि हिँडेको हुन्छ । यसर्थ विद्यार्थी जीवन लिनु र दिनु पनि हो । तर लिनु र दिनुमा ठुलो त्याग र तपस्या रहेको हुन्छ । आफ्नो रुचिको वस्तु उपभोग गर्न छाडेर, आवश्यकतामा मात्र रमेर जीवन व्यतित गर्नु एउटा त्याग हो । त्यसैले विद्यार्थी जीवन त्याग र तपस्याको जीवन हो । जुन सामान्य जीवन भन्दा फरक छ । 

No comments:

Post a Comment